काठमाडौं । विभिन्न मितिमा हराएका २२ ओटा दुई पाङग्रे सवारी साधन खोजी गरी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज शुक्रबार धनीलाई हस्तान्तरण गरेको छ । रामशाहपथ स्थित काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज एक कार्यक्रम गरी १६ ओटा मोटरसाइकल र ६ ओटा स्कुटर धनीलाई बुझाएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताउनु भएको छ ।
यस आर्थिक वर्षको सुरुवात देखी हाल सम्म सवारी साधन हराएको भनि १हजार २ सय ८९ ओटा निवेदन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त भएका थिए । प्राप्त निवेदनको आधारमा खोजी गर्दा फेला परेका ३८७ ओटा सवारी साधन माथी ट्राफिक प्रहरीले अनुसन्धान गरेको थियो । जस मध्ये आजको २२ ओटा सहित ३६० ओटा दुईपाङ्ग्रे सवारी साधन, ट्राफिक प्रहरीले धनिको जिम्मा लगाई सकेको छ ।
यस्तै चैत महिनामा ट्राफिक प्रहरीले विभिन्न स्थानमा खोजी गर्दा फेला परेका चोरीको एउटा मोटरसाईकल सहित नियन्त्रणमा लिएका १ जनालाई पनि आवश्यक कारबाहीको लागि सम्बन्धित प्रहरी कार्यालयमा बुझाएको छ । यस अघि पनि चोरीको २४ ओटा मोटरसाईकल सहित चोरीमा संलग्न २६ जना मानिसलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि सम्बन्धीत परिसर तथा वृत्तहरूमा बुझाई सकेको छ । अन्य हराइ फेला पर्न बाँकी रहेका सवारी साधनको हकमा समेत काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले तदारुकताका साथ अनुसन्धान तथा खोजतलास गरिरहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक भट्टले बताउनु भएको छ ।
लाखौँ रकम तिरेर खरिद गरेको सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगाएत सुरक्षा साइरनहरु जडान गरेमा सवारी साधन चोरी हुनबाट जोगाउन सकिने पनि उहाँले बताउनु भएको छ ।