लमजुङ । लमजुङको क्व्होलासोंथार गाउँपालिका र पालिका मातहातका सबै कार्यालयमा विद्युतीय हाजिरी शुरु भएको छ । कार्यालयको कामप्रति कर्मचारीलाई जिम्मेवार र जवाफदेही बनाउन गाउँपालिकाले पालिका कार्यालय, वडा कार्यालय र स्वास्थ्य संस्थामा विद्युतीय हाजिरी जडान गरेको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत त्रिलोकचन्द्र गुरुङले गाउँपालिका कार्यालय, वडा नं. १ देखि ९ सम्मका वडा कार्यालय, स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य इकाई र आधारभूत स्वास्थ्य सेवा केन्द्रमा विद्युतीय हाजिरी मेशिन जडान गरिएको बताए ।
विद्युतीय हाजिरी मेशिन गाउँपालिकासहित सवै कार्यालय प्रमुखको कार्याकक्षमा जडान गरिएको छ । गाउँपालिका कार्यालयमा मात्रै करिब ४० जनाले हाजिरी गर्ने अधिकृत गुरुङले बताए । उनका अनुसार कार्यालयमा विद्युतीय हाजिरीको व्यवस्था भएपछि अघिपछि हाजिर गर्ने कार्यको अन्त्य हुने र अनुगमन कार्यमा पनि सहजता हुनेछ ।
गाउँपालिकाका सूचना प्रविधि अधिकृत अनिल पौडेलले पालिका कार्यालय, वडा कार्यालय र स्वास्थ्य संस्था गरी १७ वटा विद्युतीय मेशिन खरिद गरेर जडान गरिएको बताए ।
गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले चालु आर्थिक वर्ष २०७९-०८० को वार्षीक नीति तथा कार्यक्रम अनुसार गाउँपालिका कार्यालय, वडा कार्यालय र स्वास्थ्य संस्थामा विद्युतीय हाजिरीको व्यवस्था गरिएको बताए ।