काठमाडौं । चितवन निर्वाचन क्षेत्र नम्बर २ को उपचुनावका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले सुरुमै उम्मेदवारी दर्ता गराएका हुन् ।
चितवन २ मा कांग्रेसले दिउँसो २ बजे, एमालेले दिउँसो ३ बजे र राप्रपाले दिउँसो ४ बजे उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ । यो क्षेत्रको उपचुनावमा कांग्रेसबाट चितवनका निवर्तमान सभापति जितनारायण श्रेष्ठ, एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र राप्रपाका जीवलाल पुरीले उम्मेदवारी दर्ता गर्ने तयारी छ । गएको मंसिर ४ गते भएको चुनावमा चितवन २ बाट निर्वाचित रवि लामिछाने नागरिकता मुद्दामा दोषी ठहर भएसँगै सांसद पद खारेज भएपछि यहाँ उपचुनाव हुन लागेको हो।
यस्तै, तनहुँ क्षेत्र नं १ र बारा क्षेत्र नं २ मा पनि उपचुनावको लागि आज नै उम्मेदवारी दर्ता हुँदैछ । तनहुँ–१ मा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित सांसद रामचन्द्र पौडेल राष्ट्रपति र बारा २ मा जनता समाजवादी पार्टीका तर्फबाट निर्वाचित सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि उपचुनाव हुन लागेको हो।
बेलुकी ५ बजेसम्म सम्बन्धित निर्वाचन क्षेत्रमा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ । मनोनयन दर्तापछि आजै बेलुका ६ बजे उम्मेदवारको मनोनयन पत्र दर्ता भएको सूची प्रकाशित गर्ने कार्यतालिका छ ।
भोलि बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारका विरोधमा उजुरी दिन सकिने आयोगले जनाएको छ । पर्सि बुधवार बेलुका ५ बजेसम्म मनोनयन पत्र र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने र त्यही दिन बेलुका ६ बजेभित्र उम्मेदवारको नामावली प्रकाशित गर्ने, चैत २३ गते बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने तथा दिउँसो ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका छ ।
अन्तिम नामावली प्रकाशित भएपछि उम्मेदवारले चुनाव चिह्न पाउनेछन् । आउँदो वैशाख १० गते बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान हुनेछ।