काठमाडौं, २० चैत । चर्को दरमा ब्याज असुलेको र धरौटीबापत राखिएको जग्गा फिर्ता नगरेको आरोपमा सप्तरीको विष्णुपुर गाउँपालिका–७ का सुरेन्द्रप्रसाद शर्मालाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरी टोलीले राजविराज–७ स्थित घरबाटै उनलाई नियन्त्रणमा लिएको हो ।
शर्मा जनमत पार्टीका पूर्व जिल्ला इन्चार्जसँगै हाल केन्द्रीय सदस्य समेत हुन् । उनी पार्टीभित्र सुरेन्द्र मधेशीका नामले चिनिन्छन् ।
उनीमाथि इलाका प्रहरी कार्यालय कल्याणपुरमा आपराधिक विश्वासघात र ठगी मुद्दामा जाहेरी परेको र अदालतबाट पक्राउ अनुमति प्राप्त भएपछि नियन्त्रणमा लिइएको सप्तरी प्रहरीका प्रवक्ता डिएसपी नरेशकुमार सिंहले जानकारी दिए ।