काठमाडौं । नेपालमा रासायनिक मल कारखाना खोल्न आएका दुई वैदेशिक लगानीकर्ताको फाइल अगाडि बढ्ने भएको छ । लगानी बोर्ड नेपालको बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको अर्थमन्त्री डा. प्रकाशशरण महतको सचिवालयले जानकारी दिएको छ ।
बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको थियो । अर्थमन्त्री बोर्डको उपाध्यक्ष रहने प्रावधान छ । मन्त्री महतका अनुसार अहिले रासायनिक मल कारखानाको विस्तृत अध्ययन गर्न दुई लगानीकर्ताले अनुमति कुरिरहेका छन् । उनीहरुलाई अनुमति दिने प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।
मन्त्री महतका अनुसार स्वदेशी, विदेशी र ठूलो आकारका आयोजना नेपाल लगानी बोर्डमार्फत अगाडी बढाउने निर्णय समेत भएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतका अनुसार ऊर्जा क्षेत्रमा जलविद्युत् आयोजनालाई अघि बढाउने निर्णय भएको छ । तल्लो अरुण, माथिल्लो मर्स्याङ्दी, दूधकोशी–२ लगायत जलविद्युत आयोजनालाई अगाडि बढाउने लगानी बोर्डको बैठकले निर्णय गरेको छ ।
त्यसैगरी सिमेन्टमा लगानी भएका आयोजनामा उत्पादन तहमा पुगेका छन्, त्यससँग जोडिएको विषयमा पनि निर्णय भएको मन्त्री डा. महतले बताए ।
लगानीसँग जोडिएको अन्य धेरै विषयमा बोर्डमा छलफल भएको मन्त्री डा. महतले बताए । बोर्ड बैठकमा कार्यविधि, ऐनमा संशोधन गर्नुपर्ने कुरा उठेका थिए, त्यस विषयमा सरकारले आवश्यकताअनुसार निर्णय लिने मन्त्री डा. महतले बताए ।