काठमाडौं । काठमाडौँ विश्वकै दोस्रो प्रदूषित सहर बन्न पुगेको छ। आज बिहान ९ः३० बजेको हावाको गुणस्तर मापक सूचक (एक्यूआई) का अनुसार काठमाडौँ प्रदूषित सहरको सूचीमा दोस्रो स्थानमा छ।
एक्यूआई ५० भन्दा धेरै भएमा कमजोर स्वास्थ्य भएका समूह जोखिममा पर्छन् भने एक सयभन्दा माथि भएमा सबैका लागि अस्वस्थ हुन्छ। काठमाडौँको एक्यूआई अहिले एक सय ९२ छ। सूचीको पहिलो स्थानमा थाइल्याण्डको च्याङमाइ सहर रहेको जनाइएको छ। च्याङमाइको एक्यूआई दुई सय २२ छ । यसैगरी तेस्रो स्थानमा भारतको दिल्ली, चौथोमा बङ्लादेशको ढाका र पाँचौँ स्थानमा भारतको कोलकाता छ।
एकाउन्नदेखि सयसम्म एक्यूआई मापन गरिएको वायु सामान्य अवस्थाको मानिन्छ। त्यसभन्दा माथिको एक्यूआई अस्वस्थकर हुन्छ । एक्यूआई तीन सयभन्दा माथि पुगेमा वायु प्रदूषण डरलाग्दो र घातक हुने बताइएको छ।