काठमाडौं । एसियन क्रिकेट काउन्सिल (एसीसी) पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगितामा आज (शुक्रबार) नेपालले दोस्रो खेल खेल्दै छ।
प्रतियोगिताको पहिलो खेलमा मलेसियालाई हराएर सुखद् सुरुवात गरेको नेपाल आज (शुक्रबार) ओमानको सामना गर्न लागेको हो।
ओमानसँग शुक्रबार हुन लागेको प्रतिस्पर्धा नेपालको ५०औं एकदिवसीय खेल हो। नेपालले ५०औं एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्दै गर्दा थुप्रै नयाँ रेकर्डहरु पनि कायम हुने छन्।
नेपालले सन् २०१८ मार्च १५ मा ओडीआई मान्यता प्राप्त गरेको थियो। यस पटक उक्त ओडीआई जोगाउन नेपालले निकै संघर्ष गरेको थियो। नेपालले हालसम्म ४९ ओडीआई खेलेको छ।
नेपालले आफ्नो पहिलो ओडीआई खेल २०१८ अगष्ट १ मा नेदरल्यान्ड्ससँग खेलेको थियो। दुई खेलको सिरिजमा पहिलो खेलमा पराजित भएको नेपालले दोस्रो खेलमा भने रोमान्चक १ रनको जित हात पारेको थियो।
नेपालले ४९ ओडीआई खेलमा २६ मा जित, २१ मा हार, १ मा बराबरी र १ खेलमा नतिजाविहीन छ।
शुक्रबार ओमानलाई हराएर शतप्रतिशत जित निकाल्ने लक्ष्यका साथ नेपाल मैदान उत्रिनेछ। एसीसी कपको विजेता टोलीका रुपमा एसिया कपमा भाग लिने नेपालको लक्ष्य छ।
नेपाल र ओमान बीचको खेल त्रिवि क्रिकेट मैदानमा कीर्तिपुरमा हुनेछ। यस्तै, एसीसी प्रिमियर कपको दोस्रो खेल हङकङ र यूएईबीच मुलपानी क्रिकेट मैदानमा हुनेछ। दुवै खेल बिहान ९ बजेदेखि सुरु हुनेछन्।