काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा सोमबार नेपाल र साउदी अरेबियाबीच हुने खेल वर्षाका कारण रद्द भएको छ । मूलपानी क्रिकेट मैदानमा नेपालले खेल्न लागेको पहिलो अन्तर्राष्ट्रिय खेल निरन्तर वर्षाका कारण रद्द भएपछि नेपाल सेमिफाइनल पुगेको छ ।
अघिल्लो दिनको साँझ वर्षाका कारण मैदान भिजेको कारण दुई घन्टा ढिलो खेल सुरु हुने तय गरिएको थियो । बिहान ११ बजे देखि पुनः वर्षा भएपछि खेल रद्द हुन पुगेको थियो । दिउँसो १२.३० बजे दुवै टोलीका खेलाडीले हात मिलाउँदै अंक बाँडेका थिए ।
मूलपानीमा दिनभरी नै वर्षा हुने मौसम पूर्वानुमान छ । बिहान मूलपानी आएपछि नेपाल र साउदी अरेबियाका दुवै खेलाडीले मैदान निरीक्षण गरेका थिए । वर्षा पुनः सुरु भएपछि दुवै टोली पेभेलियन भित्र बसेका थिए ।
दिउँसो २.१५ बजेपछि पनि खेल हुने सम्भावना नरहेमा खेल नहुने आधिकारिक घोषणा गरिने समय राखिएको थियो । खेल हुने कुनै सम्भावना नै नरहेपछि म्याच रेफ्री सिंगापुरका सारिका प्रसादले त्यसको झन्डै २ घन्टा अघि नै खेल रद्द भएको घोषणा गरेका थिए ।