काठमाडौं । अफगानिस्तानस्थित बेलायती दूतावासका कर्मचारीहरूको सुरक्षामा खटिएका १ सय भन्दा बढी सुरक्षा गार्डलाई बेलायत सरकारले गोप्य तरिकाले नेपाल फर्काएको खुलासा भएको छ।
ती गार्डको इच्छा विपरीत बेलायत सरकारले नेपाल फर्काएको बेलायती सञ्चार माध्यम दि गार्डियनले उल्लेख गरेको छ। गार्डियनका अनुसार ती नेपालीलाई गोप्य रूपमा नेपाल फर्काइएको हो।
बेलायतको रोयल एयर फोर्स (आरएएफ)ले आफ्नो दूतावासमा काम गरिरहेका भारतीय, नेपालीसहित करिब २५ हजार ५ सयको उद्धार गरेको थियो।
यसरी उद्धार गरिएका व्यक्तिहरूमा काबुलस्थित दूतावासमा कार्यरत नेपाली गार्डहरू थिए। तीनै गार्डलाई बेलायतले गोप्य रूपमा डिपोर्ट गरेको समाचार गार्डियनमा प्रकाशित भएको हो।
बेलायती पत्रिका गार्डियनका अनुसार उद्धार गरिएका ती गार्डहरूको ‘अन अराइभल भिसा’को म्याद ६ महिना हुँदाहुँदै उनीहरूलाई उद्धार गरे लगत्तै बेलायतबाट देश निकाला गरिएको हो। उनीहरूलाई जबरजस्ती आफ्नो देशमा पठाइएको गार्डियनले जनाएको छ।