काठमाडौं । सवारी साधनको इम्बोस्ड नम्बर प्लेटमा प्रदेशको नाम देवनागरी र अन्य नम्बर अङ्ग्रेजीमा राख्ने टुङ्गो लागेसँगै सरकारले सोहीअनुसार नम्बर प्लेट छपाइ गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएको छ ।
प्रदेशको नाम नेपालीमा लेख्ने गरी टुङ्गो लागेको र अन्य विषय यथावत रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव इन्जिनियर अर्जुनजङ्ग थापाले बताए । इम्बोस्ड नम्बर आपूर्ति गर्न बङ्गलादेशको कम्पनी टाइगर आइटीले जिम्मा पाएको छ । पाँच वर्षभित्र २५ लाख सवारी साधनमा इम्बोस्ड नम्बर जडान गर्नेगरी विसं २०७३ मा सम्झौता भएको थियो ।
सरकारले इम्बोस्डमा राख्ने भाषा टुङ्गो लगाए पनि प्राविधिक विषय मिलाउनुपर्ने भन्दै ठेकेदार कम्पनीले अझै नम्बर प्लेट छपाइ गरेको छैन ।
विविआइएनअन्तर्गतका बङ्गलादेश, भूटान र भारतमा समेत नेपाली सवारीसाधन चल्ने र उनीहरुको उपकरणले नेपाली नम्बर प्लेटलाई बुझ्नसक्ने हुनुपर्ने भएकाले इम्बोस्ड नम्बरमा नेपाली र अङ्ग्रेजी भाषाको प्रयोग गरिएको उनको भनाइ थियो । भारत, चीनलगायत कतिपय मुलुकमा समेत इम्बोस्ड नम्बर अङ्ग्रेजीमा छपाइ हुने गरेको इन्जिनियर थापाले बताए ।
यही वैशाख १२ गतेको प्रतिनिधिसभा बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले इम्बोस्ड नम्बर नेपालीमा, नेपाली तथा अङ्ग्रेजीमा र अङ्गे्रजीमा गरी तीनवटै विकल्पमा छपाइ गर्ने गरी मन्त्रिपरिषद्बाट निर्णय भइसकेको र केही समयमै लागू हुने जानकारी गराएका थिए ।
सरकारले अङ्ग्रेजीमा इम्बोस्ड नम्बर छपाइ गर्न अनिवार्य गरेको भन्दै नेपाली भाषा बचाउ अभियन्ताले विरोध जनाउँदै आएका थिए । धेरै पटक सवारीसाधनमा राखिने इम्बोस्ड नम्बर नेपालीमा राख्नुपर्छ भनेर पनि बहस हुँदै आएको थियो । यसअघि इम्बोस्ड नम्बर अङ्ग्रेजीमा छपाइ हुँदै आएको थियो ।
सरकारले देवनागरी लिपिमा इम्बोस्ड नम्बर छपाइ गर्ने भने पनि मन्त्रालयबाट स्पष्ट निर्देशन नआउँदा यातायात व्यवस्था विभागले सो कार्य अगाडि बढाउन नसकिएको जिकिर गरेको छ । विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुले यससम्बन्धमा विभागबाट कुनै तयारी नभएको र मन्त्रालयको निर्देशनको पर्खाइमा आफूहरु रहेको बताए ।