काठमाडौं । लुटपाट गर्ने उद्देश्यले कपनमा व्यवसाय गर्दै आएकी निरु पाण्डे आचार्यको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। पाण्डेको हत्या प्रकरणमा संलग्न झापाका विनोद विकलाई प्रहरीले पक्राउ गरेपछि लुटपाटको उद्देश्यले उनको हत्या भएको खुलेको हो।
कपनस्थित सरस्वती नगरमा भाडा पसल चलाउँदै आएकी निरूको गत बैशाख ७ गते हत्या भएको थियो। प्रहरी प्रधान कार्यालयले घटना अनुसन्धान गर्न प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यको संयोजकत्वमा आठ सदस्यीय अनुसन्धान टोली गठन गरिएको थियो । अनुसन्धान टोलीले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको सहकार्यमा शनिबार राति झापाबाट विकलाई पक्राउ गरेको थियो। ब्युरोले आइतबार पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी गराएको हो।
प्रहरीका अनुसार पारिवारिक कलह र ऋणले गर्दा विक काठमाडौंमा आएका थिए। ऋण तिर्न नसकेको र परिवारसँग समेत सम्बन्ध राम्रो नभएपछि विकले अपराधिक बाटो रोजेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। उनको ३/४ लाख जति ऋण रहेको र उक्त ऋण तिर्न नसकेको अनुसन्धानले देखाएको छ। निरु हत्यामा विकको एक्लैको संलग्नता रहेको अहिलेसम्मको अनुसन्धानबाट खुलेको छ।