काठमाडौं । दार्चुलाको व्यास गाउँपालिका १ बोलिङ्गमा हिमपहिरोमा परी बेपत्ता भएका पाँच यार्सागुम्बा सङ्कलकको पहिचान खुलेको छ । बेपत्ता भएका चार महिला र एक पुरुषको पहिचान खुलेको हो ।
सशस्त्र प्रहरी बल नेपाल, नम्बर ५० गुल्म छाङरुका प्रहरी नायब उपरीक्षक ईश्वरीदत्त भट्टका अनुसार बेपत्ता हुनेमा दार्चुलाको दुहुँ गाउँपालिकाका ३८ वर्षीया कमला कुँवर र १८ वर्षीय प्रविण कुँवर रहेका छन् । दुवैजना आमाछोरा हुन् ।
यस्तै डोटीको जोरायल गाउँपालिकाका ४५ वर्षीया नक्नी डोल्मा थापा, २८ वर्षीया ईश्वरी थापा र १५ वर्षीया क्षिमी सोमो थापा समेत हिमपहिरोमा बेपत्ता भएका छन् । गए रातिदेखिको लागातारको वर्षा तथा हिमपातका कारण बेपत्ताको उद्धारमा कठिनाइ भएको डिएसपी भट्टले बताएका छन् ।