काठमाडौं । आज जेठ १ गते सोमबारदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)मा दर्ता नभएका मोबाइल नचल्ने भएका छन् । मोबाइल फोनको अवैध आयात, प्रयोग र बिक्रीवितरण रोक्न नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि एमडीएमएस लागू गरेको हो । वैशाख २६ को मन्त्रिपरिषद् बैठकले एमडीएमएस प्रणाली कार्यान्वयनमा ल्याउने निर्णय गरेसँगै प्राधिकरणले उक्त व्यवस्था लागू गरेको हो ।
प्राधिकरणका अनुसार व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याएर भन्सार कार्यालयमा जाँच पास भएका मोबाइल सेटहरु एमडीएमएस प्रणालीमा स्वतः दर्ता हुने व्यवस्था गरिएको छ । एमडीएमएस भनेको नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइलको आयात तथा प्रयोगकर्तालाई व्यवस्थापन गर्न लागू भएको प्रणाली हो । यसबाट अवैध रुपमा भित्रिने मोबाइल प्रतिबन्ध गर्न सकिनेछ ।यससँगै नेपालमा आयात र प्रयोग गरिने मोबाइल सेट एमडीएमएस प्रणालीमा दर्ता नगरे ती अवैध मानिनेछन् । दर्ता नगरेको केही अवधिपछि त्यस्ता फोन नचल्नेसमेत हुन्छन् ।
अर्थात् मोबाइल नेटवर्क सेवा प्राप्त हुँदैन । प्राधिकरणले यसअघि २०७८ साउन र २०७९ भदौमा पनि एमडीएमएस प्रणाली आंशिक रुपमा लागू गरेको थियो । २०७९ पुस १५ बाट भने पूर्ण रूपमा प्रणाली लागू गर्ने भनिएको थियो । तर वैदेशिक रोजगारीबाट फर्किएका नेपाली श्रमिकले ल्याएका मोबाइल फोनको पनि कर र भन्सार शुल्क तिर्नैपर्ने व्यवस्थाका कारण यसको व्यापक विरोध भएको थियो । जनस्तरमै आलोचना भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल प्रणाली लागू नगर्न निर्देशन दिएका थिए ।