काठमाडौं । नेपाली पर्वतारोही कामीरिता शेर्पाले २८औं पटक सगरमाथा चुचुरोमा पुगेर आफ्नै रेकर्ड तोडेका छन् । शेर्पाले मंगलबार बिहान साढे ९ बजे सगरमाथाको शिखरमा पाइला टेकेको सेभेन समिट ट्रेकले जानकारी दिएको छ ।
यसअघि २७ पटक सगरमाथा चढेर शेर्पाले आफनो नामको विश्व कीर्तिमान आफैले भंग गरेका थिए । उनीसँगै अर्को हिमाल आरोही सोलुखुम्बु पाङबोचेका पासाङ दावा शेर्पाले सोमबार २७ औं पटक सगरमाथा चढेर उनको रेर्कड बराबरी गरेका थिए ।
दावासँग बराबरी भएपछि उनले आज नयाँ कीर्तिमानी बनाएका हुन् । उनले यो सिजनमा मात्रै दुई पटक शिखरमा पुगेका छन् । सेभेन समिट ट्रेक्स एभरेष्ट एक्सपिडिसन २०२३ अन्तर्गत उनी जेठ २ गते २७ औं पटक सगरमाथा पुगेका थिए ।