काठमाडौं । आईसीसी एकदिवसीय विश्व कप क्रिकेटको छनोटमा नेपाल र वेस्ट इन्डिज एउटै समूहमा परेका छन् । वेस्ट इन्डिज दुई पटकको विश्व कप विजेता हो ।
मंगलबार आईसीसीले विश्व कप छनोटको समूह विभाजन गरेको हो । समूह ’ए’ मा नेपाल र वेस्ट इन्डिजसँगै, जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स रहेका छन् । नेपाले पहिलो खेल असार ३ गते जिम्बावेसँग, दोस्रो खेल असार ५ गते अमेरिकासँग, तेस्रो खेल असार ७ गते वेस्ट इन्डिजसँग र चौथो खेल असार ९ गते नेदरल्यान्ड्ससँग खेल्नेछ ।
छनोटअघि नेपालले दुई खेलको वार्म–अप खेल्नेछ । नेपालले जेठ ३० गते यूएईसँग र जेठ ३२ गते ओमानसँग खेल्नेछ ।
समूहको शीर्ष ३ मा पर्न सके नेपाल सुपर सिक्समा पुग्नेछ । सुपर सिक्स चरणबाट शीर्ष २ टोलीले प्रतियोगिताको फाइनल खेल्नेछन् । फाइनल पुग्ने २ टोलीले आउँदो अक्टोबर–नोभेम्बरमा भारतमा हुने विश्व कपका लागि छनोट हुनेछन् ।