लमजुङ । लमजुङको दोर्दी गाउँपालिकाले मौरीपालक किसानलाई अनुदानमा मौरीको घार वितरण गरेको छ । वडा नं. ९ हिलेटक्सर मौरी पकेट क्षेत्रभित्रका व्यवसायीक मौरी पालक तथा मौरी पालन गर्न ईच्छुक किसानलाई ५० प्रतिशत अनुदानमा १ सय १० वटा मौरीको घार वितरण गरेको गाउँपालिका कृषि शाखाले जनाएको छ ।
बुधबार वडामा एक औपचारिक कार्यक्रमका विचमा किसानलाई गाउँपालिका उपाध्यक्ष विच्छबहादुर घले, प्रमुख प्रशासकीय अधिकृत सम्मेर गुरुङ,वडा अध्यक्ष आशिष तामाङ र गाउँपालिका कृषि शाखाका कृषि प्रवाधिक सहायक निराजन पौडेलले किसानलाई मौरी सहितको घार वितरण गरेका हुन् ।
कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष विच्छबहादुर घलेले व्यवसायीक रुपमा मौरी पालन गर्दै आएको तथा मौरी पालन गर्न ईच्छुक किसानलाई प्रोत्साहनका लागि मौरीसहितको घार वितरण गरिएको बताए ।
प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना ईकाई लमजुङको आर्थिक सहयोग तथा गाउँपालिका कृषि शाखाको समन्वयमा घार वितरण गरिएको उनले बताए ।
वडा नं. ९ मौरीव्यवसायका लागि भूगोल र हावापानी दुवै तरिकाबाट राम्रो र उपयोगी भएकाले पालिकाले वडा नं. ९ का किसानलाई वितरण गरेको गाउँपालिका कृषि प्राविधिक साहयाक निराजन पौडेलले बताए । प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना ईकाई लमजुङको मौरी पकेट कार्यक्रम अन्तर्गत वडा नं. ९ मा २ सय २० वटा मौरी सहितको घार वितरण गरिने प्राविधिक सहायक पौडेलले बताए । सो कार्यक्रम अन्तर्गत दोस्रो चरणमा १ सय १० वटा वितरण गरिएको हो । पाहिलो चरणमा ५० वटा मौरी घार वितरण गरि सकिएको छ ।
किसानले आफ्नो आवश्यकता अनुसार १ वटा देखि २० वटासम्म घार लगेका छन् । २४ लाख बजेटमा किसानको १२ लाख र परियोजनाको १२ लाख पर्ने उनले बताए । प्रति मौरी घार ९ हजार २ सयमा खरिद गरिएको उनको भनाइ छ ।
गाउँपालिकाले प्रत्येक वर्ष मौरी पालक किसानलाई व्यवसाय प्रवर्धनका लागि मौरी घार, आवश्यक सामाग्री, मौरी, वितरण गर्दै आएको छ । यस्तै समयसमयमा मौरी पालन व्यवसायलाई थप सहज बनाउन व्यवसायीहरुलाई तालिम समेत प्रदान गर्दै आएको गाउँपालिका कृषि शाखाले जनाएको छ ।