काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई आम माफी नदिन टीकापुर घटनामा ज्यान गुमाउने प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले राष्ट्रपतिसमक्ष आग्रह गरेकी छन्।
सरकारले आगामी सोमबार (जेठ १५) पर्ने गणतन्त्र दिवसका अवसरमा चौधरीलाई माफी मिनाहा दिने तयारी थालेपछि उनले त्यसो नगर्न अनुरोध गर्दै शुक्रबार राष्ट्रपति कार्यालयमा निवेदन दिएकी हुन् ।
‘न्याय संरक्षण गरी पाऊँ’ भन्दै उनले लेखेका पत्रमा भनिएको छ, ‘तीन तहको अदालतले निरूपण गरिसकेको विषयलाई राजनीतिको खास्टो ओढाएर अपराधीलाई माफी मिनाहा प्रदान गरी राज्यको सबैभन्दा शक्तिशाली नीति राजनीतिलाई नै अपराधीकरणसँग मितेरी नगाँसियोस्।’
सिँउदो फुस्रै भए पनि न्यायालयले गरेको फैसलामा चित्त बुझाउने आफू र आफूजस्ता निरीहका लागि अब नेपाल देशको अभिभावक र संविधानका संरक्षकबाहेक कुनै गुन्जायस नरहेको उनले बताएकी छन्।
‘पीडामा परी निरीह भएका राज्यबाट अपहेलितका लागि रेशम चौधरीलाई आम माफीको छलफल मात्रै पनि घाउमा थप नुनचुक भएको छ,’ उनले पत्रमा लेखेकी छन्।
‘सत्तामा मोज गरिरहेकी हत्यारा रेशमकी पत्नीको सिँउदोको मूल्य र कर्तव्यपरायण प्रहरी निरिक्षक केशव बोहरालगायतका सिँउदो पुछिएर न्याय मागिरहेका विधवा पत्नीको सिउँदो बीचमा फरक छुट्टयाउन नसक्ने नेतृत्वबाट आशाको दियो बल्ने छैन,’ उनले यो पिन लफेखेकी छन्, ‘करोडौं जनता निराशाले छटपटीमा रहेको देशमा म जस्तो एकल महिलाले सरकारबाट न्यायको अपेक्षा गर्न असान्दर्भिक देख्छु। जे फैसला न्यायलयले गरेको छ त्यसमा मेरो न्याय देखेको छु तसर्थ, न्यायिक मन प्रयोग गर्ने न्यायधिशहरूको निर्भिकता र स्वतन्त्रता प्रति मात्रै भए पनि गौरव गर्छु।’