काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्रप्रति वितृष्णा छर्ने प्रयासहरू कदापी सफल नहुने बताएका छन्।
गणतन्त्र दिवसका अवसरमा टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति वितृष्णा छर्ने रबलिदानीपूर्ण संघर्षबाट प्राप्त अधिकारलाई उल्ट्याउन भइरहेका प्रयास सफल नहुने बताएका हुन्।
‘संविधान कार्यान्वयन र शासन सञ्चालन मा देखिने कतिपय कमजोरीलाई आधार बनाएर व्यवस्था र प्रणालीप्रति नै भ्रम छर्ने, वितृष्णा छर्ने यी प्रयासहरू कदापी सफल हुने छैनन्,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘किनकी लोकतन्त्रको विकल्प अझ सुदृढ लोकतन्त्र र गणतन्त्रको विकल्प उन्नत गणतन्त्र हो।’
प्रधानमन्त्री प्रचण्डले गणतन्त्र दिगो हुनका लागि संविधान र कानुनमा रहेका सम्पूर्ण अधिकारको प्रयोग जनताले सहज रूपमा गर्न सक्ने अवस्था हुनुपर्ने बताए। साथै आम जनताको जीवनस्तरमा गुणस्तरीय सुधार नआएसम्म लोकतन्त्र र गणतन्त्रको औचित्य प्रमाणित नहुने पनि उनको भनाइ छ।
उनले गणतन्त्र प्राप्तिका लागि पटकपटक भएका संघर्ष राजनीतिक स्वतन्त्रता प्राप्तिका लागि मात्र सिमित नभइ राजनीतिक परिवर्तनमार्फत देशको आर्थिक र सामाजिक अवस्था सुधार गरी नेपाललाई समृद्ध र समुन्नत मुलुकका रूपमा स्थापित गर्ने उद्धेश्य रहेको बताए।