काठमाडौं । नेपालमा १७ जाति थपिएका छन् भने १० धर्म कायम भएको छ। जातजाति, भाषा तथा धर्मसँग सम्बन्धित यी तथ्यांक उत्तरदाताहरूले दिएका जवाफका आधारमा र विज्ञसमूहको सिफारिस अनुसार राष्ट्रिय जनगणना २०७८ मा जातजातिको संख्या १४२, मातृभाषा संख्या १२४ र धर्म संख्या १० कायम भएको हो।
राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार जारी विज्ञप्ति जारी गर्दै २०६८ सालको जनगणना अनुसारका कुल १२५ जातजातिमा १७ वटा जातजाति थप भएको जानकारी दिएको हो।
२०६८ सालको जनगणना अनुसार कुल १२३ वटा मातृभाषा मध्ये १२ वटा विदेशी भाषा बोल्ने व्यक्तिहरूको संख्या न्यून भएकाले ‘अन्य भाषा’ अन्तर्गत समावेश गरी हाल नयाँ थप भएका १३ वटा समेत गर्दा जम्मा १२४ वटा मातृभाषा कायम भएको कार्यालयले जनाएको छ।जातजाति, भाषा र धर्मसम्बन्धमा नतिजा प्रकाशनको पहिलो चरणमा स्थानीय तहसम्मको लिंग अनुसारको जनसंख्या सार्वजनिक गरिएको हो।