काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले आफ्नो पार्टी पहिचान र अस्तित्वको संकटको गम्भीर मोडमा उभिएको बताएका छन्। बिहीबार भक्तपुरमा बसेको केन्द्रीय समिति बैठकमा छलफलका निम्ति राजनीतिक प्रस्ताव प्रस्तुत गर्दै उनले प्रश्न गरेका छन्- ‘हामी कहाँ जान हिँडेका थियौँ, कहाँ पुग्यौँ? हामी वैकल्पिक राजनीतिक शक्ति हौँ कि परम्परागत पुरानै पार्टीका लाचार छाया हौँ?’
संविधानसभाबाट लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएपछि संविधानका अपूर्णतालाई पूर्णता दिन र देशलाई समावेशी लोकतन्त्र, संघीयता, सुशासन र समृद्धिसहित समुन्नत समाजवादको दिशामा अघि बढाउन नयाँ वैकल्पिक शक्ति निर्माणको अभियान सुरु गर्नु सही भएको उनको ठहर छ। ‘अहिले देशमा पुराना राजनीतिक शक्तिहरूको विरोधमा व्यापक जनमत बन्दै जानु र नयाँ–नयाँ शक्तिहरूको उदय हुँदै जानुले त्यसको यथेष्ट पुष्टि गर्दछ,’ उनले भनेका छन्।
पार्टीको छवि किन धमिलियो र किन कमजोर भयो त? कहाँ–कहाँ गल्ती र कमजोरी भयो त? भट्टराईले तीनलाई बुँदागत रुपमा प्रस्तुत गरेका छन्।