कास्की । गण्डकी प्रदेश सरकारले ल्याएको आउँदो आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रदेशसभाको बहुमतले पारित भएको छ । प्रदेशसभाको बिहीबारको बैठकमा सभामुख कृष्णप्रसाद धितालले निर्णयार्थ प्रस्तुत गरेपछि प्रदेशसभाको बहुमत सङ्ख्याले नीति तथा कार्यक्रम पारित गरेको हो ।
प्रदेश प्रमुख पृथ्वीमान गुरुङले यही जेठ २१ गते प्रदेशसभासमक्ष पेस गर्नुभएको सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि तीन दिनसम्म छलफल गरिएको थियो । नीति तथा कार्यक्रम पारित हुनुअघि छलफलका क्रममा प्रदेशसभा सदस्यहरूबाट उठेका प्रश्नको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जवाफ दिएका थिए ।
सो क्रममा उहाँले गण्डकी प्रदेशलाई आत्मनिर्भर र समन्नुत बनाउने अभियानमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूबीच सहकार्य हुने विश्वास व्यक्त गरे । प्रदेशको प्रथम पञ्चवर्षीय योजनालाई आधार मानेर नीति तथा कार्यक्रम ल्याएको उनले बताए ।
मुख्यमन्त्री पाण्डेले अघिल्ला सरकारले ल्याएका राम्रा कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धतासमेत जनाउनुभयो । उनले वर्तमान सरकारका लक्ष्य र प्राथमिकता स्पष्टरूपमा नीति तथा कार्यक्रममा झल्केको बताए ।
नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सत्तापक्षका सदस्यहरूले सरकारको नीति तथा कार्यक्रम उत्कृष्ट रहेको धारणा राखे । उनीहरुले नीति तथा कार्यक्रमले समन्नुत गण्डकी प्रदेशको खाका कोरेको बताएका थिए ।