एजेन्सी। कोलम्बियामा विमान दुर्घटनाको करिब ४० दिनपछि ४ जना बालबालिका जीवितै भेटिएका छन् । समाचार संस्था रोयटर्सका अनुसार कोलम्बियाको दक्षिणी भेगमा विमान दुर्घटनाको झन्डै ५ हप्तापछि बालबालिका भेटिएका हुन् ।
कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले कोलम्बियाको जंगलमा उनीहरूलाई सेनाको टोलीले शुक्रबार उद्धार गरेको जानकारी दिएका छन् ।
दुर्घटनाको समयमा जहाजमा यी चार दाजुबहिनी, आमा र एक/एक जना पाइलट र को-पाइलट रहेका थिए । विमानका पाइलटद्वय र यी बालबालिकाको आमाको भने मृत्यु भएको थियो । यी बालबालिकाको उमेर १३, ९, ४ र एक वर्ष रहेको रोयटर्सले उल्लेख गरेको छ ।
राष्ट्रपति पेट्रोले हप्तौंको खोजीपछि बालबालिकालाई सकुशल भेट्नु पूरै मुलुकका लागि खुसीको क्षण भएको बताएका छन् । सिंगल इन्जिनको सेसना-२०६ विमान अमाजोनस प्रान्तको अरारकुआराबाट ग्वावियारे प्रान्तको सान होजे डेल ग्वावियारे जाँदै गर्दा इन्जिन फेल भएर गत मे १ मा दुर्घटनाग्रस्त भएको थियो ।