काठमाडौं । आइसीसी एकदिवसीय विश्वकप छनोटको वार्मअप खेलमा नेपाल युएईसँग ३ विकेटले पराजित भएको छ। मंगलबारको पहिलो ‘वार्मअप’ खेलमा नेपाल पराजित भएको हो। विश्वकप अघिको अभ्यास खेलमा नेपालको यो लगातार तेस्रो हार हो।
पहिले ब्याटिङ गर्दै नेपालले दिएको २ सय ७७ रनको लक्ष्य युएईले एक बल बाँकी हुँदा ७ विकेट गुमाएर पूरा गरेको थियो। युएईको जितमा रोहन मुस्ताफाले ७८ रनको अर्धशतकीय इनिङ खेलेका थिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २ सय ७६ रन बनाएको थियो। नेपालका लागि ओपनर आशिफ शेखले सर्वाधिक ५७ रनको अर्धशतकीय ईनिङ खेल्दा कुशल भुर्तेलले ३९ रन बनाए। त्यस्तै कुशल मल्लले ४६ रन, बनाउँदा आरिफ शेख ३५ रन बनाएका थिए । सोमपाल कामी १५ रन तथा गुल्शन झा र दिपेन्द्र सिंह ऐरीले समान ८-८ रनको योगदान दिए। नेपालले बिहीबार दोस्रो वार्मअप खेलमा ओमानसँग खेल्ने छ।