एजेन्सी । अर्जेन्टिनाका कप्तान लिओनल मेसीले सन् २०२६ मा हुने पिफा विश्वकप खेल्ने योजना नरहेको बताएका छन् । आगामी विश्वकप उत्तर अमेरिकाको अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रुपमा आयोजना हुँदैछ ।
मेसीले चिनिया स्पोर्ट्स मिडिया टिटन स्पोर्ट्ससँगको कुराकानीमा आगामी विश्वकप खेल्ने योजना नरहेको बताएका हुन् । ‘मलाई त्यस्तो लाग्दैन । यो नै मेरो अन्तिम विश्वकप हो,’ २०२६ को विश्वकप खेल्ने बारे प्रश्न गर्दा उनले भने, ‘म हेर्छु कस्तो हुन्छ तर अहिलेको अवस्थामा म अर्को विश्वकपमा जान चाहन्न ।’
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीसँग सम्झौता सकिएपछि बार्सिलोनाका यी पूर्व स्टार अमेरिकी क्लब इन्टर मियामी जाने पक्का छ । गत डिसेम्बरमा कतारमा भएको विश्वकपमा मेसीले उत्कृष्ट प्रदर्शन गर्दै अर्जेन्टिनालाई १९८६ पछि पहिलो विश्वकप उपाधि जिताएका थिए ।
हाल चीनमा रहेको मेसीको अर्जेन्टिनाले बिहीबार अष्ट्रेलियासँग बेइजिङमा मैत्रीपूर्ण खेल खेल्नेछ । त्यसपछि अर्जेन्टिनाले जुन १९ मा इन्डोनेसियासँग जकार्तामा खेल्नेछ ।