काठमाडौं । कोसी प्रदेशका विभन्न जिल्लामा आएको बाढी पहिरोमा परी तीनजनाको मृत्यु भएको छ । भोजपुर, संखुवासभा र ताप्लेजुङमा एक–एक जनाको मृत्यु भएको हो ।
अविरल वर्षासँगै प्रदेशका ताप्लेजुङ, पाँचथर, संखुवासभा, भोजपुर र इलाम जिल्लामा आएको बाढी पहिरोले ठूलो जनधनको क्षति भएको कोसी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हालसम्म संखुवासभामा २०, पाँचथरमा पाँच र भोजपुरमा १ गरी जम्मा २८ जना बेपत्ता छन् । तीनजना बेपत्ता घाइते अवस्थामा फेला परेका छन् ।
प्रदेश सरकारले संघीय सरकारसँग समन्वय गरी जिल्लाहरूबाट घटनाको विवरण लिने र तदनुरूप खोज तथा उद्धारलाई अघि बढाइएको जनाएको छ ।
प्रदेश मन्त्रिपरिषद्को आज बसेको आकस्मिक बैठकपछि खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तिलकुमार मेन्याङ्बोको संयोजकत्वमा नेपाली सेना, सशस्त्र प्रहरीका प्रदेश प्रमुखसहितको टोलीले हेलिकप्टरबाट घटनास्थलको निरीक्षण निरक्षण गरेको छ । क्षतिको समीक्षा, थप खोज, उद्धार र राहतका विषयमा प्रदेशस्तरीय समन्वय बैठक बसेर निर्णय लिइएको मन्त्रालयले जनाएको छ ।