काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटको प्लेअफ अन्तर्गत सातौँ स्थानको खेलमा नेपाल टेस्ट राष्ट्र आयरल्यान्डसँग २ विकेटले पराजित भएकाे छ।
टस हारेपछि पहिला ब्याटिङ गर्न निम्त्याइएको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर २६८ रन बनाएको थियो। नेपालले दिएको २६९ रनको लक्ष्य आयरल्यान्डले ४ बल खेल्न बाँकी छदा ८ विकेटको क्षतिमा पूरा गर्यो।
२६९ रनको लक्ष्य पछ्याएको आयरल्यान्डका सुरुवाती ब्याटरहरूलाई नेपालले दबाबमा राखेपनि आफ्नो टोलीको जित सुनिश्चित गर्न सकेन। आयरल्यान्डले उक्त लक्ष्य ४९.२ ओभरमा प्राप्त गरेको थियो। अत्यन्त प्रतिस्पर्धात्मक खेलमा आयरल्यान्ड २ विकेटले विजयी भएको हो।
बलिङमा नेपालका करण केसीले चार विकेट लिए भने किशोर महतोले दुई विकेट लिए। नेपालको लागि गुल्सन झाले अर्धशतक प्रहार गरे। उनले ४२ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै नटआउट ५७ रन जोडे।