काठमाडौं । सातौँ राष्ट्रिय प्रधानमन्त्री एनभीए पुरुष तथा महिला भलिबल प्रतियोगितामा गत असार २५ भएको खेलका क्रममा दर्शकमाथि जाइ लाग्ने त्रिभुवन आर्मी क्लबका खेलाडीहरु कारबाहीमा परेका छन्।
लिग खेलकै क्रममा प्यारापिटमा रहेका दर्शकहरुमाथि मुक्का बर्साउने काममा संलग्न आर्मी क्बलका धनबहादुर भट्ट, राजेन्द्र विष्ट र धनपति कुँवरमाथि नेपाल भलबिल संघले प्रतिबन्ध लगाएको हो।
नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठका अनुसार धनबहादुरलाई ६ महिना तथा राजेन्द्र र धनपतिलाई तीन-तीन महिनाको प्रतिबन्ध लगाइएको हो।
घटनामा संलग्न रहेको आरोपमा हरिहजुर थापालाई राष्ट्रिय टिमको कप्तानीबाट बर्खास्त गरिएको छ। उनी आर्मी क्लबको पनि कप्तानी गर्छन्।
श्रेष्ठले छानबिन समितिको तर्फबाट दर्शक, खेलाडी र अफिसियलहरुमा खेलभावना नदेखिएको निष्कर्ष पनि निकालेको बताए। उनका अनुसार खेल हुँदाको अवस्थामा सुरक्षामा पनि कमजोरी देखिएको भन्दै त्यसमा पति विशेष ध्यान दिन सुझाएको छ।
असार २५ को खेलका क्रममा आर्मीका खेलाडीहरुले दर्शकहरुमाथि अपश शब्द प्रयोग गरेका थिए। त्यसको विरोधमा दर्शकहरुले खेलाडीतर्फ बोतल हानेका थिए। त्यसपछि आर्मीका खेलाडीहरु प्यारापिट पुगेर दर्शकमाथि कुटपिटमा उत्रिएका थिए।
राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा पुरुषतर्फको प्रतिस्पर्धा चलिरहँदा आर्मी गण्डकी प्रदेशविरुद्ध खेलिरहेको थियो। आर्मी र गण्डकीबीच तेस्रो सेटको खेलका क्रममा भएको सामान्य विवाद बढेपछि तनाव भएको थियो।
दर्शकसँग पनि विवाद भएपछि आर्मीका खेलाडीले दर्शकहरुलाई कोर्टबाटै गाली गरेका थिए। तर दर्शकहरुले उनीहरुको अराजक व्यवहारको प्रतिकार गर्दा आर्मीका खेलाडी जाइ लागेका थिए।
आर्मीका यी तीन खेलाडीरुले आफूहरूलाई बोतल हान्ने दर्शकलाई प्यारापिटमै पुगेर मुक्का हानेका थिए। आर्मीका यी खेलाडी खेलाडीको अभद्र व्यवहारप्रति अफिसियल साथ दिएर उत्रिएका थिए। अफिसियल पनि दर्शक कुट्न उत्रिएका थिए।
नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र चन्दले आर्मीका खेलाडी र अफिसियललाई रोक्न खोजे पनि सकेका थिएनन्। उनै नेतृत्वको संघले ती खेलाडीमाथि प्रतिबन्ध लगाएको हो।
राष्ट्रिय टोलीका सदस्यसमेत रहेका धनबहादुर भट्ट क्षेत्री र एक अफिसियलले प्यारापिटमै पुगेर दर्शकलाई मुक्का हानेका थिए। यतिमै मात्रै रोकिएको थिएन आर्मीको टोली। उनीहरुले दर्शकलाई कुर्सी पनि हाने।