काठमाडौं । जिल्ला अदालत काठमाडौंले बलात्कार अभियुक्त क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा पीडितकी आमाको जन्ममिति यकिन गर्न आदेश दिएको छ। बिहीबार न्यायाधीश राजुकुमार खतिवडाको इजलासले पीडितकी आमाको जन्ममिति यकिन गर्न आदेश दिएको हो ।
गत फागुन १५ गते फास्ट ट्र्याकबाट सन्दीपविरूद्धको मुद्दा किनारा लगाउन सर्वोच्च अदालतले आदेश दिएको थियो। त्यसपछि कैयौं पटक मुद्दा सुनुवाइका लागि पेशी चढेपनि स्थगित भएका थिए।
लामिछाने विश्वकप छनोट खेल्न जिम्बावे गएपछि मुद्दाको सुनुवाई रोकिएको थियो। उनी फर्किएलगत्तै मुद्दाको सुनुवाइ सुरू हुन लागेको हो।
राष्ट्रिय क्रिकेट टिम पूर्वकप्तानसमेत रहेका सन्दीपविरूद्ध भदौ २१ गते एक किशोरीले आफूमाथि जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्।