एजेन्सी । अघिल्लो राष्ट्रपतीय निर्वाचनमा षड्यन्त्र र ठगीको आरोप लागेपछि दक्षिणी राज्य जर्जियाको फुल्टन काउन्टीस्थित जेलमा आत्मसमर्पण गरेका अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले धरौटी बुझाएर रिहा भएका छन्।
फुल्टन काउन्टी जेलमा ३० मिनेटभन्दा कम समय बिताएका उनी दुई लाख डलर धरौटी बुझाएर रिहा भएका हुन्।जेलका अधिकारीले लागूऔषध कारोबार, तस्करी, मदिराले मातेर सवारी हाक्ने चालकलगायत अन्य फौजदारी अभियोग लागेकाहरूको औँठाछाप र टाउकोसहित अनुहारको तस्बिर लिने लज्जास्पद काम अमेरिकाको इतिहासमा पहिलोपटक पूर्वराष्ट्रपतिको फोटो लिएर भएको छ।
यो लज्जास्पद क्षण अमेरिकाका लागि दुःखद भएको दक्षिणी क्यालिफोर्निया विश्वविद्यालय एनेनबर्ग स्कूल अफ कम्युनिकेसन्सका प्राध्यापक मार्टी कपलान बताउँछिन्। भविष्यमा इतिहासका पुस्तकहरूमा पूर्वराष्ट्रपति ट्रम्पको त्यो आपराधिक छवि स्थायी तस्बिर भएर रहने उनले टिप्पणी गरिन्।