काठमाडौं । नेपाल राष्ट्र बैँकले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ संशोधन गर्दै उत्पादन मूलक उद्योगका लागि ३ करोड रुपैयाँसम्म कर्जा उपयोग गर्ने ऋणीलाई चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन लागु नहुने जनाएको छ ।
नेपाल राष्ट्र बैँकले सोमबार परिपत्र जारी गर्दै उत्पादनमूलक क्षेत्रलाई राहत दिने गरी चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ संशोधन गरेको हो ।
कच्चा पदार्थ वा अर्धतयारी सामानको प्रयोगबाट निश्चित मानव/मेशिनरीको प्रयोग गरी मूल्य अभिवृद्धि गराई कुनै वस्तु उत्पादन गर्ने उद्योगलाई उत्पादन मूलक उद्योगको रुपमा व्याख्या गरिएको छ ।
बैँकले कार्यान्वयनमा रहेको माग दर्शनको बुँदा नं. ३.१ संशोधन भएको जानकारी दिँदै उत्पादन मूलक बाहेक समग्र बैकिङ्ग प्रणालीबाट १ करोड रुपैयाँसम्म चालु पूँजी कर्जा उपयोग गर्ने ऋणीको हकमा भने उल्लेखित नियम लागु नहुने जनाएको छ ।
यस्ता ऋणीलाई प्रवाह हुने चालु पुँजी कर्जाको सीमा बैँक तथा वित्तीय संस्थाले आफ्नो चालू पुँजी कर्जासम्बन्धी नीतिको अधिनमा रही निर्धारण गर्न सक्ने जनाइएको छ । तर, चालु पुँजी प्रयोजनका लागि प्रदान हुने कर्जाको प्रकार यसै मार्गदर्शन बमोजिम हुनुपर्नेछ ।
यसैगरी उत्पादन मूलक क्षेत्रका लागि तीन करोड रुपैयाँभन्दा माथि ४ करोड रुपैयाँसम्मका कर्जामा चालु कर्जा निर्धारण गर्दा अनुमानित वार्षिक कारोबार/बिक्रीको अधिकतम २० प्रतिशतले हुन आउने रकमसम्म मात्र कुल चालु पुँजी कर्जा सीमा कायम हुने जनाइएको छ ।