काठमाडौं ।एसिया कपको उद्घाटन खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ। पाकिस्तानको मुल्तान क्रिकेट मैदानमा भएको खेलमा नेपाल २३८ रनको फराकिलो अन्तरले पराजित भएको हो।
पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३४२ रन बनाएको थियो। ३४३ रनको विशाल लक्ष्य पछ्याएर ब्याटिङमा उत्रिएको नेपाल २३ ओभरमै अलआउट हुन पुग्यो। नेपालले २३ दशमव ३ ओभरमा १०४ रन मात्र बनाउन सक्यो।
पाकिस्तानका लागि सदाब खानले सर्वाधिक ४ तथा शाहिन शाह अफ्रिदी र ह्यारिस रौफले २/२ विकेट लिए। नसिम शाह र मोहम्मद नवाजले एक/एक हात लिए।
नेपालका सोमपाल कामीले २८ र आरिफ शेखले २७ रन बनाउनबाहेक अन्य ब्याटर पाकिस्तानी बलरका अगाडि निरिह रहे।
नेपालले पहिलो ओभरमै दुई विकेट गुमाएको थियो। त्यसपछि क्रिजमा आएका कप्तान रोहित पौडेल दोस्रो ओभरमा शू्न्य रनमा आउट भए। गुल्सन झाले १३ रन बनाए भने सन्दीप लामिछानेले शून्यमा आउट भए।