काठमाडौं । आईसीसी टीट्वान्टी महिला विश्वकपअन्तर्गत एसियाली क्षेत्रको छनोट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । मलेसियामा जारी प्रतियोगिताको आफ्नो दोस्रो खेलमा शुक्रबार नेपालले बहराइनलाई १० विकेटले पराजित गर्यो ।
बिहीबार खेलिएको आफ्नो पहिलो खेलमा नेपालले आयोजक मलेसियालाई पाँच रनले हराएको थियो । शुक्रबारको खेलमा टस जित पहिलो ब्याटिङको निणर्य लिएको बहराइनले १५.४ ओभरमै अलआउट हुनुअघि ३१ रनमात्र बनाउन सक्यो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले २.५ ओभरमै कुनै पनि विकेट नगुमाई जित हासिल गर्यो ।
नेपालका लागि ओपनर कविता कुँवरले अविजित १७ र सीता रानामगरले अविजित दुई रनको योगदान गरेका थिए । कविता कुँवरले १४ बलको सामना गरी तीन चौका पनि हिर्काइन् । त्यसअघि टस जितेर पहिलो ब्याटिङ रोजेको बहराइका ब्याटरहरुलाई नेपाली बलरले प्रारम्भदेखि नै दबाबमा राखेका थिए ।
बहराइनलाई सस्तोमा समेटन नेपाली टोलीकी बलर इन्दू वर्माले तीन विकेट लिएकी थिइन् । उनले चार ओभर बलिङ गर्दै दुई मेडन राखेर केवल पाँच रन खर्चिएकी थिइन् । खुसी डंगोलले दुई विकेट हात पारिन् ।
उनले १.४ ओभर बलिङ गर्दै एक रन पनि दिइनन् । कविता कुँवर, पूजा महतो र रुविना क्षेत्रीले पनि एक—एक विकेट हात पारे । बहराइनका लागि कप्तान दीपीका रसनगिकाले ११ रन बनाइन् । इशारा सुहुनले पाँच रन जोडेकी थिइन् । आशा सामिलदिनले पनि पाँच रन बनाइन् । ओपनर थारंगा गजानायके चार रनमै पेभेलियन फर्किइन् । पविथ्रा सेठ्ठी एक रनमा आउट भइन् । प्रजना जगदिशा, ओपनर रासिका रोड्रिगो, मनाल मलिक, अबिरा वारिस र सदामली भाक्सलाले खातासम्म खोल्न सकेनन् ।