काठमाडौं । एसिया कप क्रिकेटमा भारतसँग पराजित भएको नेपाली खेलाडीहरूलाई भारतीय खेलाडीहरूले मेडल लगाइदिएका छन् । प्रशिक्षक मोन्टी देसाईको योजनाअनुसार भारतीय खेलाडीहरू विराट कोहली र हार्दिक पाण्ड्यालगायतले नेपाली खेलाडीहरूलाई मेडल लगाइदिएका हुन् ।
कुनै पनि प्रतियोगितामा जितेका खेलाडीले हारेका खेलाडीलाई मेडल लगाइदिएको दृष्य आफैँमा दुर्लभ हो । ह्याप्पी ड्रेसिक रुमको मान्यताका साथ प्रशिक्षक देसाईले भारतीय खेलाडीहरूबाट नेपाली खेलाडीलाई मेडल लगाउने योजना बनाएको बुझिएको छ । भारतसँगको खेल हारे पनि साहसिक प्रदर्शन गरेको भन्दै नेपाली टोलीको प्रशंसा भइरहेको छ ।
यसैक्रममा नेपाली टोलीका अलराउन्डर सोमपाल कामीले पनि भारतीय टोलीका प्रभावशाली खेलाडी विराट कोहलीको अटो ग्राफ लिएका छन् । उनले आफ्नो जुत्तामा विराट कोहलीको अटो ग्राफ लिएका हुन् । त्यो तस्बिर सोमपालले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका छन् ।
फेसबुकमा तस्बिर सार्वजनिक गर्दै उनले खेलेका छन्, ‘विराट कोहली एउटा क्रिकेटर मात्र होइनन्, उनी भावना पनि हुन् ।’