काठमाडौं । नेपालले एक सय ८० मेगावाट बिजुली निर्यात गर्न भारतको विद्युत् मन्त्रालयबाट स्वीकृति पाएको छ। नेपालले यसअघि चार सय ५२ मेगावाट बिजुली बेच्नका लागि अनुमति पाएको थियो। थप चारवटा आयोजनाको बिजुली भारतले किन्ने भएपछि अब कूल ६ सय ३२ मेगावाट विद्युत् नेपालले बेच्नेछ।
नेपालले अहिले महेन्द्रनगर–गड्डाचौकी प्रसारण लाइनबाट ७० मेगावाट र ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट एक सय १० मेगावाट गरी एक सय ८० मेगावाट बिजुली बेच्नका लागि अनुमति पाएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले जानकारी दिए। भारतले यो बिजुली हरियाणा राज्यका लागि लैजान लागेको हो।
माथिल्लो चमेलिया र माथिल्लो कालंगागाड जलविद्युत् आयोजनाको ७० मेगावाट बिजुली महेन्द्रनगर–गड्डाचौकी प्रसारण लाइनबाट भारतमा जानेछ भने सोलुखोला (दूधकोशी) र दोर्दीखोला जलविद्युत् आयोजनाको बिजुली ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट जानेछ।