पाकिस्तानको मध्यस्थतामा अमेरिका र इरान दुई साताका लागि युद्धविराम गर्न सहमत भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध कडा चेतावनी दिएको केही घण्टामै पाकिस्तानको कूटनीतिक पहलपछि यस्तो सहमति सम्भव भएको हो।
राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत इरानले ‘होर्मुज स्ट्रेट’ खुला गर्ने सर्तमा अमेरिका सैन्य आक्रमण रोक्न तयार भएको जानकारी दिएका छन्। पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ र सेना प्रमुख असिम मुनिरको अनुरोधमा यो निर्णय लिइएको उनले बताएका छन्। ट्रम्पका अनुसार इरानबाट १० बुँदे प्रस्ताव आएको छ र सम्झौतालाई अन्तिम रूप दिन थप दुई हप्ता लाग्नेछ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले पनि युद्धविरामको पुष्टि गरेको छ। इरानले आगामी दुई हप्ताका लागि ‘होर्मुज स्ट्रेट’ खुला गरिने जनाएको छ।
इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले सम्झौता अनुमोदन गरिसकेको जनाइएको छ। स्थायी शान्तिका लागि थप वार्ता इस्लामाबादमा हुने बताइएको छ।
यसैबीच इजरायल पनि युद्धविराममा सहमत भएको छ। ह्वाइट हाउसका अनुसार यो अवधिमा इजरायलले इरानमाथि कुनै आक्रमण गर्ने छैन।
यसअघि फेब्रुअरी २८ मा अमेरिका र इजरायलको संयुक्त हवाई हमलापछि द्वन्द्व चर्किएको थियो। हालसम्म उक्त द्वन्द्वमा ५ हजारभन्दा बढी मानिसको ज्यान गएको अन्तर्राष्ट्रिय स्रोतहरूले जनाएका छन्।

