काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत व्यवस्थापन संकायको एमबीएस प्रथम सेमेस्टरको परीक्षाको प्रश्नपत्र लिक गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कैलालीको गौरीगंगा नगरपालिका–११ स्थायी घर भई हाल भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१ बस्दै आएका ३३ वर्षीय सन्दीप सिंह रहेका छन्। उनलाई प्रहरीले मध्यपुर थिमीबाट नियन्त्रणमा लिएको हो।
नेपाल प्रहरीका अनुसार साउन ८ गते सञ्चालन भएको एमबीएस प्रथम सेमेस्टरको ‘एमजीटी ५१५ : अर्गनाइजेसनल बिहेभियर’ विषयको प्रश्नपत्र विभिन्न ह्वाट्सएप समूहमार्फत सार्वजनिक गरी शिक्षा ऐन, २०२८ अन्तर्गतको कसुर गरेको आरोपमा सिंहलाई पक्राउ गरिएको हो।
प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।
यसैबीच, एमबीएस प्रथम सेमेस्टरका अन्य विषयको परीक्षा अझै सञ्चालन हुन बाँकी रहेकाले प्रश्नपत्र चुहावट वा अन्य कुनै गैरकानुनी गतिविधिमा संलग्न नहुन नेपाल प्रहरीले सबैसँग आग्रह गरेको छ। प्रहरीले परीक्षा प्रणालीको विश्वसनीयता कायम राख्न यस्ता गतिविधिमा संलग्न हुने व्यक्तिमाथि कडा कानुनी कारबाही गरिने पनि जनाएको छ।

