काठमाडौं । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच लुम्बिनी प्रदेश सरकारमा सहकार्य गर्ने समझदारी भएपछि सरकारमा सहभागी नेपाली कांग्रेसका पाँच मन्त्रीले सामूहिक राजीनामा दिएका छन्।
नयाँ राजनीतिक समीकरण बनेसँगै आइतबार कांग्रेसका मन्त्रीहरूले प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरीमार्फत मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष राजीनामा बुझाएका हुन्।
राजीनामा दिने मन्त्रीहरूमा सहरी विकास तथा खानेपानीमन्त्री सरोज थापा (रोज राणा), आर्थिक मामिलामन्त्री धनेन्द्र कार्की, उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपाने, सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सेना तथा वन तथा वातावरणमन्त्री देवकरण कलवार रहेका छन्।
सहरी विकास तथा खानेपानीमन्त्री सरोज थापाले मन्त्रीहरूको सामूहिक राजीनामा संसदीय दलका नेता चौधरीमार्फत मुख्यमन्त्रीलाई बुझाइएको जानकारी दिए।
एमाले र नेकपाबीच शनिबार भएको तीनबुँदे समझदारीअनुसार लुम्बिनी प्रदेशको नेतृत्व एमालेले गर्ने सहमति भएको छ। हालका मुख्यमन्त्री चेतनारायण आचार्य एमालेकै भएकाले उनी नै निरन्तर रहने वा नयाँ मुख्यमन्त्री चयन हुने भन्ने विषयमा भने अझै निर्णय हुन बाँकी छ।
मुख्यमन्त्री पदका लागि एमालेभित्र पूर्वमुख्यमन्त्री लीला गिरी र भूमिश्वर ढकालको पनि आकांक्षा रहेको बताइएको छ। नयाँ सत्ता समीकरणसँगै लुम्बिनी प्रदेश सरकारको नेतृत्व र मन्त्रिपरिषद् पुनर्गठनको प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।

