काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) मा कार्यरत करार तथा ज्यालादारी श्रमिकहरू विभिन्न माग राख्दै आन्दोलित भएका छन्।
आन्दोलनरत कर्मचारीहरूले मंगलबार सीटीईभीटीको केन्द्रीय कार्यालय घेराउ गर्दै आफ्ना माग तत्काल सम्बोधन गर्न दबाब दिएका हुन्।
लामो समयदेखि संस्थामा कार्यरत भए पनि रोजगारी तथा सेवा–सुविधाको सुनिश्चितता नभएको भन्दै उनीहरूले आन्दोलन सुरु गरेका हुन्। श्रमिकहरूले आफूहरूलाई हाल कार्यरत पद र जिम्मेवारीमै निरन्तर काम गर्ने वातावरण सुनिश्चित गर्नुपर्ने माग गरेका छन्।
करार कर्मचारीलाई संस्थामा गरेको श्रम र योगदानका आधारमा न्यायोचित सेवा–सुविधा उपलब्ध गराउनुपर्ने उनीहरूको माग छ। उनीहरूले दशैं भत्तासहित पोसाक भत्ता, प्रशिक्षण भत्ता, दुर्गम भत्ता, स्थानीय भत्ता, प्रोत्साहन भत्ता, महँगी भत्ता, सामाजिक सुरक्षा र उपदानलगायतका सुविधा उपलब्ध गराउनुपर्ने माग अघि सारेका छन्।
त्यस्तै, मासिक ज्यालादारीमा कार्यरत कर्मचारीलाई हालकै अवस्थामा निरन्तर काम गर्न दिनुपर्ने र अनावश्यक रूपमा पद, काम, जिम्मेवारी वा कार्यप्रकृतिमा परिवर्तन गर्न नहुने माग पनि उनीहरूले गरेका छन्।
आन्दोलनरत श्रमिकहरूले लामो समयदेखि संस्थामा काम गर्दै आएको अवस्थामा रोजगारीको निरन्तरता तथा श्रमअनुसारको सेवा–सुविधा सुनिश्चित गर्नुपर्ने बताएका छन्। माग सम्बोधन नभएसम्म दबाबमूलक कार्यक्रमलाई निरन्तरता दिने संकेतसमेत उनीहरूले दिएका छन्।

