काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी स्थानीय तह निर्वाचनका उम्मेदवार पार्टीका तल्लो तहका सदस्यको डिजिटल मतदानबाट छनोट गर्ने बताएका छन्।
स्याङ्जामा आयोजित स्वागत तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै थापाले पार्टीको विधानअनुसार डिजिटल मतदानबाट उम्मेदवारको प्रारम्भिक सूची तयार गरिने र त्यही सूचीका आधारमा उम्मेदवार चयन गरिने बताएका हुन्।
उनले निर्वाचनको अन्तिम समयमा पहुँच र प्रभावका आधारमा टिकट दिने वा खोस्ने विगतको अभ्यास अन्त्य गर्ने दाबी गरे।
‘पहिलाको जस्तो निर्वाचनको बेलामा दुई दिन, दुई घण्टा अगाडि टिकट लिने, खोस्ने कुनै कुरा हुँदैन,’ थापाले भने, ‘पार्टीको विधानमा व्यवस्था गरेका छौँ। हामीले सबैको सदस्यता अद्यावधिक गरिसकेका छौँ। बाँकीको पनि गर्छौँ।’
थापाका अनुसार उम्मेदवार छनोटको प्रारम्भिक प्रक्रिया पुस–माघभित्रै सम्पन्न गर्ने तयारी छ। त्यसका लागि पार्टी सदस्यताको अद्यावधिक गरी तल्लो तहका सदस्यको डिजिटल मतदानबाट उम्मेदवारको प्रारम्भिक सूची तयार गरिनेछ।
‘उम्मेदवारको प्रारम्भिक काम पुस–माघभित्र गरिसक्छौँ। तलबाट साथीहरूबाट डिजिटल्ली मतदान हुन्छ। साथीहरूले छान्नुहुन्छ, त्यही प्रारम्भिक सूचीबाट नै हामी उम्मेदवार बनाउँछौँ,’ उनले भने।
निर्वाचन हुनुभन्दा दुईदेखि तीन महिनाअघि नै उम्मेदवारको टुंगो लगाएर चुनावी तयारीमा खटाउने योजना रहेको पनि थापाले बताए।
गुमेको मतभन्दा जनविश्वास फर्काउनु मुख्य चुनौती
सभापति थापाले कांग्रेसको तत्कालीन प्राथमिकता निर्वाचनमा गुमेको मतको हिसाब गर्नुभन्दा जनतासँग कमजोर बनेको विश्वास पुनःस्थापित गर्नु रहेको बताएका छन्।
पार्टीप्रति जनतामा बनेको धारणा सुधार्न संगठनका सबै तहका नेता तथा कार्यकर्ताले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए।
‘हामीले गुमाएको मत होइन, हामीले गुमाएको विश्वास हो। विश्वासलाई पुनःस्थापित गरेपछि मत विश्वासलाई पछ्याउँदै आउँछ,’ थापाले भने, ‘जनताको विश्वास पुनःस्थापित गर्न संगठनका प्रत्येक सदस्यको मेहनत र पार्टीप्रतिको जनधारणा सुधार दुवै आवश्यक छन्।’
उनले पार्टीको सार्वजनिक छवि र जनविश्वास कमजोर हुनुका आन्तरिक तथा बाह्य कारणको समीक्षा गर्नुपर्ने बताए। विगतका निर्वाचनमा पराजय भोग्नुपरे पनि कांग्रेसले लोकतान्त्रिक मूल्य–मान्यता, व्यक्तिगत स्वतन्त्रता र शान्ति प्रक्रियाका पक्षमा निरन्तर भूमिका निर्वाह गरेको उनको भनाइ थियो।
मंसिरलाई संगठन जागरणको महिना बनाउने तयारी
थापाले मंसिर महिनालाई पार्टी संगठनको जागरण र जनसम्पर्क विस्तारको महिनाका रूपमा उपयोग गर्न नेता–कार्यकर्तालाई आग्रह गरेका छन्।
पार्टीका आन्तरिक गतिविधिमा मात्र केन्द्रित नभई जनतासँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्नु अहिलेको आवश्यकता रहेको उनले बताए।
थापाका अनुसार १२ गते शपथग्रहणपछि बस्ने केन्द्रीय कार्यसमिति बैठकले पार्टीको आगामी कार्ययोजना तय गर्नेछ।
नयाँ कार्ययोजनामार्फत संगठनलाई प्रभावकारी बनाउने, जनतासँगको सम्बन्ध सुधार गर्ने र स्थानीय तह निर्वाचनको तयारीलाई व्यवस्थित रूपमा अघि बढाउने उनले बताएका छन्।

