राजेन्द्र प्रजापति
काठमाडौं । लमजुङको मध्य-मर्स्याङ्दी जलविद्युत् आयोजना नजिँदै ड्याम साइडमा पहिरो जाँदा बेसिशहर नगरपालिका ११ चितिका बस्तीहरु उच्च जोखिममा परेका छन् । असार २६ गतेदेखि परेको अविरल वर्षाका कारण बेसिशहर ११ भोटेनी बस्ने ४० वर्षीय सुनिल तिवारीको शौचालय बगाएको छ भने घर समेत उच्च जोखिममा परेको छ ।
पहिरो गएको ठाउँ तल मध्य-मर्स्याङ्दी जलविद्युत् आयोजनाको ड्याम रहेको छ । पहिरोबाट सुनिल तिवारीसँगै रुद्रनिधि तिवारीको घर र गोठ समेत उच्च जोखिममा परेको छ ।
पहिरोबाट पीडित सुनिलले जलविद्युत आयोजनाकै कारण पहिरो गएको बताए । उनले पहिरोका कारण घरमा बस्न सक्ने स्थिति समेत नभएको बताए ।
बेसिशहर नगरपालिका ११ का वडाअध्यक्ष शिव प्रसाद जोशीले मध्य-मर्स्याङ्दी जलविद्युत आयोजनाको बाढी र भलका कारण पहिरो गएको र बस्ती नै उच्च जोखिममा परेको बताए । उनले उक्त घरबस्ती अन्यन्त्र स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको र पहिरो रोकथामको पहल तुरुन्त गर्न आयोजनालाई आग्रह गराइएको बताए ।
मध्य-मर्स्याङ्दी जलविद्युत आयोजना सुन्दरबजारलाई जोखिममा रहेको बस्ती स्थानान्तरण तथा जग्गा अधिग्रहण गरी मुआब्जाको व्यवस्था मिलाइदिन सिफारिस गरिएको समेत वडाअध्यक्ष जोशीले बताए ।
पहिरोको बिहीबार प्रहरी चौकी चितिका प्रहरी सहायक निरीक्षक इन्चार्ज कुमार के.सीको टोलीले सर्जमिन मुचुक्ला बनाइ जिल्ला प्रहरी कार्यालयमा पठाएको छ ।
स्थानीय सञ्जिप मगरले जलविद्युत आयोजनाले प्रभावित क्षेत्रका स्थानीयलाई वेवास्था गर्दै आएको बताए । उनले पहिरोका विषयमा आयोजनाका प्रतिनिधि आएर अनुगमन गरेको र निवेदनसहित कार्यालयमा सम्पर्क राख्न आग्रह गरेको बताए । मर्स्याङ्दी नदीमा पानीको बहाव बढ्न थालेपछि ड्यामसाइडका बस्तीहरु उच्च जोखिममा पर्न थालेका छन् ।
हेर्नुहोस् भिडियो
यस्तै अविरल वर्षासँगै आएको बाढीका कारण रिठे बगर जाने बाटो बगाएको छ । मर्स्याङ्दी नदीको बहाबका कारण बाटो पूर्ण रुपमा क्षति भएको हो ।
वडाअध्यक्ष जोशीले जलविद्युत आयोजनाले सडक नजिकै रहेको बीचको डाँडो फाल्न नदिएका कारण बाटोमा पूर्ण रुपमा क्षति पुगेको बताए । उक्त सडकको जलविद्युत आयोजनाका प्रमुख पवन बस्नेतसहित वडा अध्यक्ष, वडा सदस्य, सर्वदलिय नेतृत्वसहित भएको वार्ता र अनुगमनपछि समाधान खोज्ने निर्णय समेत गरेको छ ।