काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बिदाका दिन पनि स्वास्थ्य सेवा अवरुद्ध नहुने गरी सेवा सञ्चालन गर्न सम्बन्धित सबै निकायलाई निर्देशन दिएको छ।
मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिअनुसार मन्त्रिपरिषद्को निर्णय बमोजिम चैत २२ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था लागू भएसँगै स्वास्थ्य सेवा प्रवाहलाई निरन्तर र प्रभावकारी बनाउन विशेष व्यवस्था मिलाउन भनिएको हो।
विज्ञप्तिमा अस्पतालहरूले आफ्नो कार्यभार र जनशक्ति अवस्थालाई ध्यानमा राख्दै आइतबार समेत ओपीडी सेवा सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ। यस व्यवस्थाअनुसार कर्मचारीलाई हप्तामा शनिबारबाहेक अर्को एक दिन बिदा दिई दुई दिनको बिदा मिलाउनुपर्ने तथा सम्भव नभएमा सट्टा बिदा उपलब्ध गराउनुपर्ने व्यवस्था गर्न निर्देशन दिइएको छ।
त्यसैगरी, प्रादेशिक अस्पतालहरूमा समेत सोहीअनुसार सेवा सञ्चालनको व्यवस्था मिलाउन सातै प्रदेशका स्वास्थ्य मन्त्रालयलाई अनुरोध गरिएको छ।
मन्त्रालयले नागरिकलाई आवश्यक स्वास्थ्य सेवा सहज र अविरल रूपमा उपलब्ध गराउन यस्तो व्यवस्था गरिएको स्पष्ट पारेको छ।

