काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच्च अदालतको आदेश र पीडितका आवश्यकताहरू पूरा गरी शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय टुंगोमा पुग्नुपर्ने बताएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटपछि आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । अन्तिम चरणमा रहेको नेपालको शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय टुंगोमा पुर्याउन राष्ट्रसंघ सहयोग गर्न तयार रहेको उनले उल्लेख गरे ।
उनले पत्रकार सम्मेलनमा बोल्दै नेपाल र संयुक्त राष्ट्रसंघबीचको गहिरो मित्रतालाई थप मजबुत बनाउन आफू काठमाडौं आएको पनि बताए । महासचिव गुटेरेसले विगत बीस वर्षमा नेपालको प्रगति अचम्मको रहेको पनि बताए ।
उनले नेपाल आफ्नो कुनै संलग्नता नै नभएको विश्वव्यापी संकटको आँधीमा पनि फसेको बताउँदै त्यसलाई हल गर्न अन्तर्राष्ट्रिय पहल आवश्यक रहेको बताए ।
महासचिव गुटेरेसले नेपालले विगत तीस वर्षमा एक तिहाइ हिँउ गुमाएको बताउँदै यहाँका हिमनदीहरू उच्चदरमा पग्लिरहेको प्रति चिन्तासमेत प्रकट गरे । उनले भगवान बुद्धको शान्तिको शिक्षा अहिलेको समस्याग्रस्त संसारमा पहिले भन्दा सान्दर्भिक रहेको बताउँदै आफूले लुम्बिनीको पनि भ्रमण गर्न लागेको उल्लेख गरे ।