काठमाडौं । खैरहनी नगरपालिकाले चालु आव २०८०/८१ को आम्दानी खर्चको समीक्षा गर्दै बजेट गरेको छ । शुक्रबार सम्पन्न चौधौँ नगर सभाले चालू खर्चतर्फ १ करोड ९ लाख बजेट घटाएको नगर प्रमुख शशिकुमार खनियाले बताएका छन् ।
चालु खर्चबाट घटाइएको रकमलाई पुँजिगत खर्चमा रकमान्तर गरी बिभिन्न विकास निर्माणको योजनाहरुमा विनियोजन गरिएको र विकास निर्माणका कार्यक्रमलाई प्राथमिकता दिँदै नगरबासीको जनआकांक्षा सम्बोधन गर्न प्रशासनिक खर्च कटौती गरिएको नगरप्रमुख खनियाले उल्लेख गरेका छन् ।
नगरसभाबाट पारित भएका महत्वपूर्ण निर्णयहरूको जानकारी गराउँदै नगरप्रमुख शशी कुमार खनियाले खैरहनी नगरबासीले उपचारको लागि रगत लिन रक्त सञ्चार केन्द्रलाई बुझाउनु पर्ने शुल्क नगरपालिकाले भुक्तानी गर्ने गरी निर्णय गरेको जानकारी दिए ।
चालु आर्थिक बर्षको साउन महिनामा सम्पन्न दोस्रो नगरसभाले चालु खर्च तर्फ कार्यालय संचालन तथा प्रशासनिक खर्चको व्यय अनुमान रु.११ करोड ९९ लाख
विनियोजन गरेकोमा चौधौं नगरसभाले सो अनुमानित बजेट घटाएर रु.१० करोड ९९ लाख कायम गरेको र विभिन्न नगरस्तरीय कार्यक्रमहरुको व्यय अनुमान रु.४९
लाख २५ हजारलाई रकमान्तर गरी रु.४० लाख २५ हजार कायम गरिएको नगर उपप्रमुख कविता उप्रेतीले बताएकी छन् ।
नगर प्रमुख शशी कुमार खनियाको अध्यक्षता सम्पन्न भएको खैरहनी नगरपालिकाको चौधौं नगरसभा नगर उपप्रमुख कविता उप्रेतीद्वारा सभामा पेस भएको
तेह्रौं नगरसभाबाट स्वीकृत आर्थिक वर्ष २०८०/८१ को बजेट, योजना तथा कार्यक्रम संसोधन सम्बन्धी प्रस्ताव र विभिन्न राजस्वका दरहरूलाई संशोधन सम्बन्धी प्रस्ताव सभा समक्ष पेश भई सर्वसम्मत रुपमा पारित गरिएको छ ।
खैरहनी नगरपालिकाको चौधौं नगरसभामा कार्यपालिकाले चालु आर्थिक वर्ष साउनदेखि हालसम्म गरेका निर्णयहरु अनुमोदन गर्ने सम्बन्धी प्रस्ताव, खैरहनी नगर अस्पतालको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन समेत सर्वसम्मतिले पारित गर्दै चौधौं नगरसभा सम्पन्न भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु सापकोटाले जनाएका छन् ।