काठमाडौं । बाह्रखरी मिडियाको आयोजनामा सम्पन्न कथा प्रतियोगिताको पाँचौं संस्करण ‘डिश होम बाह्रखरी कथा लेखन प्रतियोगिता–२०८०’ विजेताको घोषणा र विजयी कथाकारहरुलाई आइतबार पुरस्कार प्रदान कार्यक्रम सम्पन्न गरिएको छ ।
काठमाडौंमा सम्पन्न विशेष कार्यक्रममा पाँचौं संस्करणको कथा प्रतियोगिताको विजेता घोषणासँगै ‘उत्कृष्ट कथा–२०८०’ पनि लोकार्पण गरिएको छ । सो कार्यक्रममा पूर्वप्रधानन्यायाधीश श्रेष्ठले ‘बाह्रखरी उत्कृष्ट कथा २०८०’ कथाकृतिको लोकार्पण गरे ।
सो कथासंग्रहमा नेपालसहित विश्वका विभिन्न मुलुकबाट प्राप्त ८ सय ४३ कथाहरूमध्येबाट उत्कृष्ट ठहरिएका २५ कथा समावेश गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले प्रथम, द्वितीय र तृतीय कथाकारहरू मनोजबाबु पन्त, प्रमोद प्याकुरेल र विजय हितानलाई क्रमशः रु. एक लाख, साठी हजार तथा चालीस हजार नगद पुरस्कार प्रमाणपत्र तथा ट्रफी प्रदान गरे ।
मनोजबाबु पन्तको ‘बुढो लाँकुरीको रुख’ प्रथम, प्रमोद प्याकुरेलको कथा ‘काँचुली’ दोस्रो र विजय हितानको कथा ‘चेपाङ, चमेरो र चिउरी’ तेस्रो पुरस्कार प्राप्त गरे ।
यस कथा संग्रहमा २५ उत्कृष्ट कथाका साथै अतिथी कथाकारका रुपमा चार वरिष्ठ आख्यानकर्मी भागीरथी श्रेष्ठ, भाउपन्थी, डा. राजेन्द्र विमल र गणेश रसिकका कथा पनि समाविष्ट छन् ।
बाह्रखरी कथा लेखन प्रतियोगिता २०८० मा उत्कृष्ट २५ कथाकारहरूमा अनिता पन्थी, उमा शर्मा, जेएन दाहाल, डिल्लीरमण पौडेल, तैँ तैँ धिताल, त्रिभुवनचन्द्र वाग्ले, दिनमान गुर्मछान, दिव्य गिरी, दीपक लोहनी, प्रमोद प्याकुरेल, मनोजबाबु पन्त, महेश चौलागाईं, रबर्ट जोशी, रमा सुवेदी, रमेशजंग थापा, राजेन्द्र अधिकारी, राजेश सुवेदी, विक्रम नेपाल, विजय हितान, वसन्तबायुङ राई, शंकर धिताल, डा. श्रीधर खनाल, सञ्जय घिमिरे, सोमनाथ दाहाल र हिरा लामा रहेका छन् ।
कथा प्रतियोगिताको पाँचौं संस्करणका उत्कृष्ट कथाकारहरूलाई पूर्व प्रधान न्यायाधीश श्रेष्ठसँगै डिश मिडिया लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुदीप आचार्य, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डे, राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण श्रेष्ठ, नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक नागेन्द्र साहसहित बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधान, प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्य, प्रबन्ध सम्पादक राजेश केसी, विशेष सम्पादक हरिबहादुर थापा, विचार सम्पादक तथा आन्तरिक निर्णायक समूहका संयोजक गोविन्द अधिकारीलगायतले खादा, प्रमाणपत्र, नगद र ट्रफी प्रदान गरे ।
कार्यक्रममा यस वर्षका अतिथि कथाकारहरूलाई पनि सम्मानसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
कथा लेखन प्रतियोगिताको पाँचौं संस्करणमा विजयी उत्कृष्ट २५ कथा तथा अतिथि कथाकारहरूकोे कथासहित २९ कथाको सँगालो ‘बाह्रखरी उत्कृष्ट कथा–२०८०’ पब्लिसिङ् पार्टनर फाइन प्रिन्टले बजारमा ल्याएको छ ।