काठमाडौं । मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार वीणा जोशी (राजभण्डारी) लाई र जगदम्बा–श्री सम्मान गीतकार किरण खरेललाई प्रदान गरेको छ।
घटनास्थापनाको दिन आइतबार आयोजित कार्यक्रममा ‘नेवार समुदायका परम्परागत मुकुण्डोनाच’ पुस्तकका लेखक जोशीलाई मदन पुरस्कार र नेपाली गीत लेखनमा योगदान पुर्याएका खरेललाई जगदम्बा–श्री सम्मान प्रदान गरिएको हो।
विराटनगरमा जन्मिएर काठमाडौंमा हुर्किएकी जोशी नृत्य कलाविद् हुन्। उनको ‘नेवार समुदायका परम्परागत मुकुण्डोनाच’ पुस्तक एक हजार चार सय पृष्ठको छ। १७ खण्डमा विभाजित पुस्तकमा काठमाडौं उपत्यकाभित्रका लोपोन्मुख तान्त्रिक तथा परम्परागत देवीदेवताका मुकुण्डो नाचहरू (ख्वपाः प्याखं) र तिनका गुरुहरूको इतिहास समेटिएको छ।
त्यस्तै, नेपाली गीत लेखनमा ६ दशकभन्दा लामो समयदेखि समर्पित रहँदै नेपाली भाषा र वाङ्मयको श्रीवृद्धिमा योगदान पुर्याएका गीतकार खरेललाई जगदम्बा–श्री सम्मान प्रदान गरिएको हो।
मदन पुरस्कार गुठीले हरेक वर्ष प्रकाशित उत्कृष्ट पुस्तकलाई मदन पुरस्कार प्रदान गर्दै आएको छ। त्यस्तै, नेपाली भाषा, साहित्य, संगीत र कला क्षेत्रमा योगदान पुर्याउने व्यक्तिलाई जगदम्बा–श्री सम्मान प्रदान गरिँदै आएको छ। दुवै पुरस्कारको राशि तीन लाख रुपैयाँ रहेको छ।

