काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र संचालनमा रहेका सबै पेट्रोल पम्पले अनिवार्यरुपमा शौचालय निर्माण गरी सञ्चालनमा ल्याउनुपर्ने भएको छ।
काठमाडौं महानगरपालिकाले बिहिबार पेट्रोलियम डिलर्स एसोसिएसनका प्रतिनिधि समेतलाई बोलाएर छलफल गरी पेट्रोल पम्पले अनिवार्यरुपमा शौचालय निर्माण गर्नुपर्ने निर्णय गरेको हो। यसका लागि पेट्रोल पम्पलाई ४५ दिनको समय दिइएको छ।
नेपाल आयल निगम पेट्रोलियम पदार्थ बिक्री नियमावली २०७५ मा पेेट्रोल पम्पले शौचालय बनाउनुपर्ने व्यवस्था भएपनि कार्यान्वयन भएको छैन। महानगरले राखेको बैठकमा निगमका उपनिर्देशक मनोज ठाकुर पनि सहभागी थिए।
महानगरपालिकाले पेट्रोल पम्पहरुमा तत्काल र निश्चित समयमा गर्नुपर्ने सुधार सम्बन्धमा सुझाव दिन ७ सदस्यीय समिति गठन गरेको छ। नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीको संयोजकत्वमा गठित समितिमा पेट्रोलियम डिलर्स एसोसिएसनका प्रतिनिधि पनि सदस्य छन्।