काठमाडौं । हेटौँडास्थित नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय जिन्सी व्यवस्थापन शाखाबाट ७ करोडबराबरका सामान हराएका छन् । सामान गायब भएपछि वास्तविकता पत्ता लगाउन गठन भएको छानबिन समितिले संलग्न व्यक्तिलाई कारबाहीको सिफारिस गरेको छ ।
विद्युत् प्राधिकरणको खरिद व्यवस्थापन महाशाखाबाट हेटौँडास्थित केन्द्रीय जिन्सी व्यवस्थापन शाखामा दाखिला भएका विद्युतीय सामान कर्मचारीको लापर्वाहीका कारण गायब भएपछि प्राधिकरणले केन्द्रीयस्तरमा गठन भएको छानबिन समितिले ७ करोडबराबरका सामान हराएको प्रतिवेदन दिएको प्राधिकरणको खरिद व्यवस्थापन महाशाखा प्रमुख जीतेन्द्रकुमार झाले जानकारी दिए ।
हेटौँडास्थित जिन्सी शाखाको तत्कालीन प्रमुख बुद्धकुमार कार्कीले वर्तमान प्रमुख रमेश पराजुलीलाई सामान बरबुझारथ गर्ने क्रममा अभिलेखअनुसारका सामान नपाइएपछि सामान हराएको वास्तविकता सार्वजनिक भएको हो ।