काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री मुकुल ढकालले रास्कोट अस्पतालमा हिनामिना नभएको बताएका छन्।सामाजिक संजाल ट्वीटरमा उनले रास्कोट अस्पताल र रवि लामिछाने फाउन्डेसनको विषयमा आएको समाचारको विषयमा ध्यानाकर्षण भएको बताउँदै सो कुरा बताएका हुन्। ढकालले रास्कोट अस्पताल र रवि लामिछाने फाउन्डेसन दुई वटा फरक संस्था रहेको बताउँदै रवि लामिछाने फाउन्डेशनमा भने रकम हिनामिना हुन सक्ने बताएका छन्।
सामाजिक संजाल ट्वीटरमा उनले लेखेका छन्- रास्कोट अस्पताल र रवि लामिछाने फाउन्डेशनको विषयमा आएको समाचारको विषयमा मेरो ध्यानाकर्षण भएको छ । रास्कोट अस्पताल र रवि लामिछाने फाउन्डेशन दुइ वटा फरक संस्था हो । रास्कोट अस्पतालमा पैसा पुगेपछी टेन्डर विधिबाट पैसा निकासा गरिएको थियो, त्यसकारण यसमा कुनै पनि प्रकारको हिनामिनाको सम्भावना छैन । रवि लामिछाने फाउन्डेशनको पैसाको हिना मिनाको शङ्का मलाई त्यतिबेला नै लागेको थियो र मैले तत्कालिन अध्यक्ष रवि लामिछानेलाई पैसा हिनामिनाको विषयबारे लिखित जानकारी गराएको थिए । दुवै संस्थाको सञ्चालक समितिको सदस्यमा म थिए, र केहि चेकमा मेरो हस्ताक्षर पनि छन् र मैले काटेको चेक कुनै हिनामिनामा संल्गन छैन र म त्यसको पूरै जिम्मेवारी लिन्छु । नेपाल सरकार र सम्बद्ध निकायलाई फाउन्डेशन र अस्पतालको विषयमा रवि लामिछाने, डिपि अर्याल, दिपक बोहोरा, निकिता पौडेल र म मुकुल ढकाल माथि छानविनका लागी आग्रह गर्दछु । म कुनै पनि प्रकारको अनुसन्धान र छानविनको लागी पूर्णरूपले तयार छु र हुलहुज्जत बिना कानुनलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।
कालीकोटको रास्कोटमा अस्पताल निर्माणका लागि दाताबाट उठाएको रकम रवि लामिछनेपत्नी निकिता पौडेलको खातामा गएको पाइएपछि यो विषय चर्चामा छ ।