काठमाडौं । वाणिज्य बैंकहरुले नयाँ ब्याजदर प्रकाशन गरेका छन् । बैंकहरुले भोलि अर्थात् माघ १ गतेदेखि लागू हुने गरि ब्याजदर प्रकाशन गरेका हुन् ।
माघ महिनामा अधिकांश बैंकहरुले पुस महिनाकै ब्याजदरलाई निरन्तरता दिने भएका छन् । पुसको तुलनामा लक्ष्मी सनराइज बैंकले मात्रै ब्याजदर बढाएको छ । पुसमा लक्ष्मी सनराइजले व्यक्तिगत मुद्दति निक्षेपमा ५.५ प्रतिशत र संस्थागत तर्फ ४.५ प्रतिशत ब्याज प्रदान गरेको छ । तर, माघमा भने बढाएर क्रमशः ५.७५ प्रतिशत र ४.५ प्रतिशत दिने भएको हो ।
यता, माघ महिनाका लागि नेपाल एसबिआई र कृषि विकास बैंकले भने ब्याजदर घटाएका छन् । एसबिआई बैंकले माघ महिनाका लागि व्यक्तिगत तर्फ ५.५ प्रतिशत र संस्थागत तर्फ ४.५ प्रतिशत ब्याज दिने भएको छ । तर, पुसमा भने व्यक्तिगत र संस्थागत तर्फ क्रमशः ६ प्रतिशत र ५ प्रतिशत ब्याज प्रदान गरेको छ ।
यता, कृषि विकास बैंकले पनि घटाएर व्यक्तिगत तर्फ ५.५१ प्रतिशत र संस्थागत तर्फ ३.२५ प्रतिशत ब्याज प्रदान गर्ने भएको हो । पुस महिनामा कृषि विकासले व्यक्तिगत तर्फ ५.५७ प्रतिशत र संस्थागत तर्फ ३.२५ प्रतिशत ब्याज दिएको छ ।
यी तीनै वटा बैंक बाहेक १७ बैंकले पनि पुस महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।
यस्तै, नेपाल बैंकले पनि माघ महिनाका लागि व्यक्तिगत तर्फ ५.६ प्रतिशत र संस्थागत तर्फ ४.१५ प्रतिशत, सिटिजन्सले व्यक्तिगत तर्फ ५.६५ प्रतिशत र संस्थागत तर्फ ४.५ प्रतिशत, ग्लोबल आइएमईले व्यक्तिगत तर्फ ५.७५ प्रतिशत, संस्थाग तर्फ ४.२५ प्रतिशत ब्याज दिने भएका छन् ।
यता, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले व्यक्तिगत तर्फ ६.५ प्रतिशत र संस्थागतमा ५.१ प्रतिशत र माछापुच्छ्रे बैंकले व्यक्तिगत तर्फ ६ प्रतिशत र संस्थागत तर्फ ४ प्रतिशत दिने भएको छ । यस्तै, सिद्धार्थ, एभरेष्ट, राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत मुद्दतिमा ६–६ प्रतिशत ब्याज दिने भएका छन् । तर, संस्थागत तर्फ भने क्रमशः ५ प्रतिशत, ५ प्रतिशत र ३.५ प्रतिशत तोकेका छन् ।
त्यसैगरि माघ महिनामा नबिल बैंकले व्यक्तिगत तर्फ ५.७५ प्रतिशत र संस्थागत तर्फ ४.२५ प्रतिशत, सानिमाले व्यक्तिगत तर्फ ६.०५ प्रतिशत र संस्थागत तर्फ ४.३ प्रतिशत, प्रभूले व्यक्तिगतमा ६.१ प्रतिशत र संस्थागतमा ५.१ प्रतिशत ब्याज दिने भएको छ ।
यता, प्राइम, स्ट्याण्डर्ड चार्टर्ड, हिमालयन बैंकले व्यक्तिगत निक्षेपमा बराबरी ६.२५ प्रतिशत ब्याज दिने भएका छन् । तर, संस्थागत तर्फ भने क्रमशः ४ प्रतिशत, ३.२५ प्रतिशत र ५.२५ प्रतिशत तोकेका छन् ।
माघ महिनामा एनआइसी एनएमबि र एनआइसीले व्यक्तिगत र संस्थागत तर्फ क्रमशः ६.६ प्रतिशत र ५.६ प्रतिशत बराबरी ब्याजदर निर्धारण गरेका छन् ।