काठमाडौं । शेयर बजार निरन्तर घट्न थालेसँगै आज साढे ६ अर्ब बढीको शेयर किनबेच भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १५.५४ अंकले घटेको हो । ०.५९ प्रतिशतले बजार घट्दा नेप्से २५९४.१३ अंकमा ओर्लिएको छ ।
बजार तल झरेसँगै आज सबै समूह राताम्मे भएका छन् । ट्रेडिङ समूह सबैभन्दा बढी १.८९ प्रतिशतले घटेको हो । आज ३२२ कम्पनीका १ करोड ३८ लाख ७० हजार ५ सय ७९ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ६५ करोड ८ लाख ८३ हजार १ सय ३.५४ रुपियाँ बराबरको शेयर कारोबार भएको हो ।
आज बाराही हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले नाफा कमाएका छन् । त्यस्तै आत्मनिर्भर लघुवित्त र सिन्धु विकास बैंकका लगानीकर्ताहरुले सबैभन्दा बढी १०–१० प्रतिशतले घाटा व्यहोरेका छन् ।
एनआरएन इन्फ्रास्ट्रक्चरको आज पनि उच्च कारोबार भएको छ । उक्त कम्पनीको ४५ करोड २५ लाख ५१ हजार ६ सय ७५ रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
साताको पहिलो दिन हिजो आइतबार बजार २५.५१ अंकले बजार घट्दा ३ अर्ब ९९ करोड ७९ लाख ९ हजार ३ सय २३.८७ रुपियाँ बराबरको कारोबार भएको थियो ।